बालबालिकालाई खोप


तपाईंले कत्तिको विश्वास गर्नुहुन्छ कुन्नि ? तर सत्य के हो भने, खोप लगाएर वर्षेनि २० लाखदेखि ३० लाखसम्म बालबालिकालाई अकाल मृत्युमा पर्नबाट जोगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकले यसै भन्छ । भ्यागुते रोग, धनुषटंकार, लहरे खोकी, दादुरा, निमोनिया, पोलियोजस्ता रोगबाट बालबालिकालाई बचाउन खोप लगाउनैपर्ने 

कुनै पनि रोगविरुद्घ प्रतिरोधात्मक क्षमता विकसित गर्न कुनै औषधि खुवाउनु वा सिरिन्जका माध्यमले दिनुलाई खोप भनिन्छ । पोलियोको औषधि खुवाउने गरिन्छ, क्याप्सुल निचोरेर । त्यसबाहेक अरू सबै खोप इन्जेक्सनको माध्यमले दिइन्छ । बालबालिकालाई संक्रामक रोगबाट बचाउन खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सस्तो विधि हो । खोप लगाउँदा तिनको शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।

डब्लूएचओका अनुसार, विश्वभरका २ करोड २० लाख बालबालिकाले अझसम्म आधारभूत खोप पनि पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखाका अनुसार, नेपालमा दस बालबालिकामध्ये एकजना अझै खोपबाट बचाउन सकिने रोगहरूबाट सुरक्षित हुन सकेका छैनन् । अर्थात्, खोपको अपर्याप्तता नेपालमा पनि छ ।

हाम्रो मुलुकमा राष्ट्रिय खोप कार्यक्रमका माध्यमले सरकारले एक वर्षमुनिका बालबालिकालाई नौ प्रकारको खोप निःशुल्क दिने गरेको छ । मुलुकमा एक वर्षमुनिका बालबालिकाको संख्या ६ लाख ३५ हजार छ । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ का अनुसार, मुलुकमा १३ प्रतिशत बालबालिका पूर्ण खोप लिनबाट वञ्चित छन् । तीमध्ये ३ प्रतिशत बालबालिकाले त एउटै खोप लिएका छैनन् । डेढ दशकअघि मुलुकका करिब ४३ प्रतिशत बालबालिकाले खोप लिने गरेकोमा हाल यो दर ८७ प्रतिशत पुगेको छ ।

‘हरेक अभिभावकले आफ्नो एक वर्षमुनिको सन्तानलाई सरकारद्वारा वितरित नियमित खोप कार्यक्रम अन्तर्गतका खोपहरू निर्धारित समयमा दिलाउनैपर्छ,’ नेपाल पेडियेटिक सोसाइटीका अध्यक्ष एवं बालरोग विशेषज्ञ डा. ज्योतिरत्न ढाक्वा भन्छन्, ‘हाल नेपालमा सरकारी क्षेत्रबाट वितरित खोपको गुणस्तरमा कुनै शंका नगरे हुन्छ । ती खोपहरू उच्च गुणस्तरका हुने गरेका छन् ।’

‘खोपले गर्दा नै हाल बिफरको उन्मूलन भयो, दादुरा रोग नियन्त्रण गरी निवारणतर्फ उन्मूख छौं,’ महाशाखाका खोप शाखा प्रमुख गिरिराज सुवेदी भन्छन्, ‘सबल खोप कार्यक्रमले गर्दा नै नेपाल पोलियो उन्मूलनको नजिक छ, मातृ तथा नवशिशु धनुष्टंकार रोग पनि निवारण हुने अवस्थामा पुगेको छ ।’ यति मात्र नभई, खोपबाट मात्र बालबालिकालाई बचाउन सकिने भ्यागुते रोग, लहरे खोकी, जापानिज इन्सेफलाइटिस, हेपाटाइटिस बीजस्ता रोगहरूसमेत नियन्त्रणको स्थितिमा रहेको सुवेदी बताउँछन् ।

सबै खोप दिने गरे पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर २० प्रतिशतभन्दा कम गर्न सकिने महाशाखाका प्रमुख डा. तारानाथ पोखरेल बताउँछन् । उनका अनुसार, खोपले मुलुकमा बाल मृत्युदर घटाउन उल्लेखनीय भूमिका खेलेको छ ।

कुन खोपले कुन रोगबाट बचाउँछ ?

बीसीजी (ब्यासिलस क्यालम्याते ग्युरिन): यो क्षयरोगविरुद्घ दिइने खोप हो । यो खोप लगाए बालबालिकालाई क्षयरोग लाग्न पाउँदैन । क्षयरोगले शरीरको कुनै पनि भागमा हुन सक्ने संक्रमण भए पनि यसले मुख्य रूपले फोक्सोमा असर गर्छ । क्षयरोग लागेकाहरूको राम्ररी उपचार नभए मृत्युसमेत हुन सक्छ ।

रुबेला: यो खोपले श्वासप्रश्वासका माध्यमबाट सर्ने दादुराजस्तै देखिने रोग रुबेलाबाट बचाउ गर्छ । यो रोगको जीवाणुले गर्भावस्थाको सुरुमा संक्रमण गरे गर्भस्थ शिशुलाई समेत असर गर्छ । यो रोग लागे जन्मजात विकृति भएको शिशु जन्मिन्छ ।

जेई: तराईका ३० उच्च जोखिमयुक्त जिल्लामा दिइने यो खोपले जापानी इन्सेफलाइटिसबाट बचाउँछ ।

कुन खोप कुन उमेरमा ?

नियमित खोप सेवाअन्तर्गत बीसीजीको खोपको एक मात्रा जन्मदेखि एक वर्षको उमेरभित्र दिइन्छ । डीपीटी, हेप बी, हिब खोपको तीन मात्रा र पोलियो खोपको ३ मात्रा क्रमशः ६ साता, १० साता र १४ साताको उमेरमा दिइन्छ । दादुरा, रुबेला खोपको एक मात्रा शिशु ९ महिना पुगेदेखि एक वर्षको उमेरभित्र दिइन्छ ।

डीपीटी (डिप्थेरिया पर्टुसिस टिटानस): यो खोपले भ्यागुते रोग, लहरे खोकी र धनुषटंकार रोगबाट सुरक्षा प्रदान गर्छ । भ्यागुते रोगको कीटाणुले उत्पादन गरेको एक प्रकारको विषले नाकभित्र र घाँटीमा बाक्लो जालो बन्छ । यसले गर्दा सास फेर्न गार्‍हो भई बिरामीको मृत्यु हुन सक्छ । यो गम्भीर प्रकारको सरुवा रोग हो । लहरे खोकी श्वासप्रश्वासबाट सर्ने रोग हो । यसमा बालबालिकालाई धेरै खोकी लाग्ने मात्र नभई खोक्दाखोक्दा सास फेर्न समेत गार्‍हो हुने गर्छ । यो रोगले समेत मृत्यु हुन सक्छ । धनुषटंकार आमा र नवजात शिशुलाइ लाग्ने रोग हो । घरमै सरसफाइको कमी भएको अवस्थामा यो रोग लाग्न सक्छ ।


हेप बी: यो खोपले हेपाटाइटिस बीविरुद्घ सुरक्षा प्रदान गर्छ । कलेजोमा असर गर्ने यो एक प्रकारको गम्भीर सरुवा रोग हो ।

हिब: यो खोपले हिमोफेलिस इन्फ्लुएन्जाबाट जोगाउँछ । यो इन्पmलुएन्जाले मेनेन्जाइटिस, निमोनिया, कान पाक्नेजस्ता रोगहरू लाग्न सक्छ । न्युमोकोकल कीटाणुले मेनेन्जाइटिस, निमोनियासँगै रगतमा संक्रमण उत्पन्न गर्छ । यस्तो निमोनिया सबैभन्दा गम्भीर मानिन्छ । तथ्यांकअनुसार यस्तो निमोनिया भएका तीनजनामध्ये एकजनाको मृत्यु हुने गर्छ ।

ओपीभी: पोलियोबाट सुरक्षित हुन यो खोप लगाउने गरिन्छ ।

दादुरा: यो खोपले श्वासप्रश्वासका माध्यमले तीव्र गतिले सर्ने दादुराबाट जोगाउँछ । दादुरा हुँदा ज्वरो आउँछ, नाकबाट सिंगान बग्न सुरु हुन्छ, खोकी लाग्छ, शरीरभरि स-साना राता बिमिरा आउने गर्छन् । दादुरा लागेका २० बालबालिकामध्ये एकजनालाई निमोनिया हुने पाइएको छ । बाल स्वास्थ्य महाशाखाका अनुसार, दादुरा भएका प्रतिएक हजारजनामध्ये दुईजनासम्मको मृत्यु हुने गर्छ ।

Leave a Reply