मिन्स पछि सर्ने समस्या



















        म र मेरी गर्लफ्रेन्ड २२ वर्षका भयौं। हामीबीच प्रायःजसो कन्डम नलगाई (सेक्सको अन्तमा शुक्रकीट बाहिर फ्यालिन्छ) सेक्स हुन्छ। दुई-तीन महिनादेखि मिन्स पछि सर्ने समस्या भएको छ। जस्तो कि ४ गते हुनुपर्ने नभएर ६ गते त कहिले ७/८ गतेतिर हुन्छ। यस्तो किन भएको होला ? के मिन्स सर्दै जाँदा स्वास्थ्यमा कुनै समस्या आउँछ ? के मिन्स पछि सर्नु सामान्य हो ? …..
महिनावारी महिलाहरूमा हुने एक सामान्य प्रक्रिया हो। निषेचित डिम्बको डिम्बरोपण (पाठेघरको भित्तामा टाँसिने प्रक्रिया)का लागि बाक्लो भै तयार भएको पाठेघरको भित्री तह गर्भधारण नभएको स्थितीमा तुहिएपछि योनिमार्गबाट रगत आउनुलाई हामी सामान्यतः महिनावारी, नछुने हुनु, पर सर्नु वा रजस्वला हुनु भनेर चिन्दछौं, तर यसको सञ्चालन विशेष गरेर अन्तःश्रावी प्रणाली (हार्मोनहरूको एक जटिल प्रणाली) बाट हुन्छ। चिकित्सा क्षेत्रमा नलागेकाहरूलाई यो कुरा बुझ्न अलि गाह्रो पर्ने भए पनि पहिले यसैलाई बुझ्ने प्रयास गरौं। मस्तिष्कको hypothalamus भन्ने भाग, पिटयुटरी ग्रन्थि र डिम्बाशयवाट निस्कने हार्मोनहरूले यसलाई सञ्चालन गर्छ। Hypothalamus बाट निस्कने gonadotropin releasing hormone (GRH) को प्रभावमा पिटयुटरी ग्रन्थीले follicular stimulating hormone(FSH) तथा luteinizing hormone (LH) निकाल्छ। यी हार्मोनहरूको प्रभावमा प्रजनन अंगहरूले काम गर्छन्। महिनावारीको चक्रलाई हेर्ने हो भने मुख्यतयाः तीन चरणमा बाँड्न सकिन्छ। पहिलो चरण (Follicular Phase) मा FSH को प्रभावले डिम्ब परिपक्व हुन्छ। सुरुमा प्रोजेस्टेरोन तथा इस्ट्रोजनको मात्रा कम हुने पाठे घरको भित्री तह तुहिन्छ र ३-६ दिनसम्म महिनावारीको रगत बग्छ। महत्त्व निकै भए पनि वास्तवमा सामान्यतः ६० देखि ९० मिली मात्र रगत बग्छ। यो चरणको मध्य भागतिर इस्ट्रोजनको मात्रा बढ्छ, जसले FSH सँग मिलेर डिम्ब निस्कासनका लागि तयारी गर्छ। इस्ट्रोजनका कारण पाठेघरको भित्री भाग बाक्लिन थाल्छ। दोस्रो चरण (डिम्ब निष्कासन) ः डिम्बाशयबाट डिम्बको निष्कासन हुन्छ। यसो हुन इस्ट्रोजनको मात्रा बढ्छ र hypothalamus लाई LH अत्यधिक मात्रामा निकाल्न मद्दत गर्छ। तेश्रो चरण (Luteal phase) भन्नाले डिम्ब निष्कासन भएदेखि अर्को महिनावारी सुरु नभएसम्मको समयलाई बुझाउँछ। डिम्बाशयवाट डिम्ब निस्किएको ठाउँ (corpus luteum) ले प्रशस्त मात्रामा प्रोजेस्टेरोन र इस्ट्रोजन निकाल्छ र त्यसको प्रभावले पाठेघरको भित्री तह निषेचित डिम्बलाई ग्रहण गर्न अझै बाक्लो बनाई उपयुक्त बनाउँछ। यदि डिम्ब निषेचित भएन भने प्रोजेस्टेरोन र इस्ट्रोजनको मात्रा एक्कासि र्झछ, जसको असरले पाठेघरको भित्री तह फेरि तुहिन थाल्छ र अर्को महिनावारी सुरु हुन्छ।
महिनावारी ढिला भएको हो ? माथि चर्चा गरिएको सञ्चालन प्रक्रियामा गडबडी भए महिनावारी ढिलो वा चाँडो हुनसक्छ। यसका अनेक कारण हुन सक्छन्। त्यतातिर जानुभन्दा पहिले के तपाईंको केटी साथीको महिनावारी साँच्चिकै ढिलो भएको हो वा होइन, विचार पुर्‍याउनुपर्छ। तपाईं दुवैलाई थाहा भएकै कुरा हो, महिनावारी सामान्यतः २८ दिनको हुन्छ र केही दिनको चाँडो-ढिलोलाई पनि सामान्य नै मानिन्छ। कुनै-कुनै महिलामा महिनावारी प्रत्येक २१ दिनमा पनि हुन सक्छ भने कसैमा यो ३५ दिन वा सोभन्दा बढी हुनसक्छ। तपाईंको हकमा कुरा गर्दा १ गते सुरु भएको महिनावारी अर्को महिनाको ४ गते भए त्यो यस्तै ३५ दिनभित्रै पर्न सक्छ र त्यस पछि ४ गते शुरु भएको महिनावारी ७-८ गते हुन जाँदा पनि सो ३५ दिनभित्रै पर्छ। यस्तो कुरा नियमित रूपमै भैरहेको छ भने केही चिन्ता लिनु पर्दैन। महिनावारी गडबडी हुनुको स्वास्थ्यमा असर पर्नेभन्दा पनि यसले पाठेघर वा त्यस वरिपरि वा अन्य शरीरमा भएका खराबीको संकेत दिन्छ। तपाइर्ंले अन्य लक्षण जस्तै कि तल्लो पेट वा ढाड दुख्ने, रगतमा चोक्टा जस्तो आउने, रगत कम वा बढी आउने वा यौनसम्पर्कमा दुख्ने उल्लेख गर्नु भएको छैन। त्यस्तो केही भए लेख्नुहोला ताकि स्वास्थ्यमा के कस्तो असर पर्छ भन्न सकियोस्। बाह्य वीर्य स्खलन कति प्रभावकारी ? वीर्य स्खलन हुनुभन्दा अघि लिङ्ग योनिबाट झिक्ने र वीर्यलाई बाहिर स्खलन गर्ने (जसमा शुक्रकीट पनि हुन्छ) विधि धेरै जनाले अपनाउने गरेको देखिन्छ। प्रभावकारिताको कुरा गर्दा यो कन्डमको दाँजोमा आउन सक्ने पनि बताइएको छ। उत्तम तरिकाले प्रयोग गरे ४ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ भने सामान्य तरिकाको प्रयोगमा १९ प्रतिशत भन्ने कुरा अहिलेका अध्ययनहरूले देखाएका छन्। यो विधि अपनाउँदा पुरु षले वीर्य स्खलन हुन लागेको कुरा पहिले नै थाह पाउनु र त्यसैअनुसार लिङ्ग झिक्नु आवश्यक छ। वास्तविक वीर्य स्खलन हुनुभन्दा पनि पहिले पुरुषको लिङ्गबाट आउने रसमा पहिलेका स्खलनका कारणले शुक्रकीट रहन सक्ने भएको हुँदा कहिलेकाहीं राम्रोसँग लिङ्ग बाहिर निकाल्दा पनि प्रभावकारी नहुन सक्छ। चरमसुखमा पुग्नै लागेका बेला पुरुष (अनि महिलाको पनि) चेतनशीलता केही रूपमा भए पनि धमिलिन सक्छ र त्यति बेलाको क्रियाकलापमा चेतनमनको नियन्त्रण नहुन सक्छ भने यो विधिबाट यौन रोग तथा एआईभीजस्ता संक्रमणबाट बच्च सकिँदैन।

Leave a Reply