यौन मनोविज्ञान

                                                                                                              
       म १९ वर्षीया अविवाहित युवती हुँ। मैले अहिलेसम्म दुईजना युवकसँग यौनसम्पर्क राखिसकेकी छु। पहिलो युवकसँग सम्पर्क हुँदा उसले मलाई भविष्यसम्म साथ दिने विश्वास दिलाएको थियो, जुन उसले पूरा गरेन। केही समयपछि उसलाई मैले अर्कै युवतीसँग सम्पर्क बढाएको पाएँ। 

एक्लो भएको केही समयपछि मैले अर्को विश्वासिलो साथी भेटेकी छु। ऊ मेरो डि्रम ब्वाइ भएकाले जुनसुकै मूल्य चुकाएर पनि यो सम्बन्धलाई राम्रो  बनाउन चाहन्छु। एउटासँग धोका पाएकाले मलाई यो सम्बन्ध लामो समय जाला भन्ने विश्वास भने लागेको छैन। कम उमेर भए पनि एकातिर मैले  पहिले नै कुमारित्व गुमाएकी छु। यसले बेलाबखतमा चिन्ता पैदा गराइरहन्छ। मेरो यौनसाथीको बेला-बेलामा तिमी यौनमा परिपक्व छौं भन्ने भनाइले पनि  मलाई मेरो शंकामा बल पुर्‍याउँछ। यो सम्वन्ध तोडियो भने म पुरुष फेर्ने युवतीका रूपमा चर्चित हुन पुगुँली भन्ने त्रास मनमा आइरहन्छ। मैले पहिलो  युवकसँग किन सम्बन्ध राखे भनेर पश्चाताप मानिरहने मेरो यो स्वभावमा कसरी सुधार ल्याउने ? मनोविज्ञानका हिसाबले मेरो मनस्थितिलाई कस्तो  अवस्थामा राखेर मूल्यांकन गर्न सकिन्छ ? 
आमयुवती

   १९ वर्ष पुग्नुअघि नै तपाईंले दुई जना युवकसँग सम्पर्क राखिसक्नुभएको रहेछ। युवतीहरू प्रेममा नपरी यौन सम्बन्ध राख्न सक्दैनन् भन्ने मेरो बुझाइ छ।  यस अर्थमा तपाईं दुई पटक प्रेममा परिसक्नुभएको रहेछ। जीवनमा टिन एज अर्थात् १९ वर्षभन्दा कम उमेरमा विपरीत लिंगीप्रति आकषिर्त हुनु  स्वाभाविक हो। यो उमेरमा हामीलाई धेरै कुरा थाहा पनि हुँदैन। कसैप्रतिको आकर्षण र वास्तविक प्रेम सम्बन्ध फरक कुरा हुन्। यो उमेरमा भएका तपाईंका घटना अस्वाभाविक होइनन्, तर प्रेम र यौनका गतिविधिहरूमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्डअनुसार आफूलाई समायो जन गर्नुपर्ने हुन्छ। यसअन्तर्गत आफ्ना व्यक्तिगत मापदण्ड बनाउन सकिन्छ। प्रेम र यौनका सम्बन्धमा आफैंले पनि एकपटक गम्भीर भएर सोचे अघि  बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्नेछ। सामान्य रूपमा सोच्दा पनि हामीले अहिलेको सूचना प्रविधिको विकासलाई सदुपयोग गरिरहेका  छैनौं। आफ्ना राम्रा पक्षमा गौरब गर्न छोडेका छौं। तिनलाई बचाइराख्न सकिरहेका छैनौ, तर संसारका नराम्रा कुरा हामीले छिटो ग्रहण गरिरहेका हुन्छौं।  एकछिन गम्भीर भएर नियालौ त, अहिलेको समय आफ्ना राम्रा कुराको सूची बनाएर तिनलाई भरसक नघटाउने र संसारका राम्रा पक्ष सिकेर आफ्नो  विद्यमान ज्ञानको भण्डार बढाउँदै लाने होइन र ? 

जहाँसम्म पुराना घटनाप्रति पश्चातापको कुरा छ, यसरी पश्चाताप गर्नेमा तपाईं मात्र एक्लो हुनुहुन्न। यो उमेरमा कुमारित्व गुमाएकोमा धेरैलाई  पश्चाताप हुन्छ। त्यसमाथि पनि गलत मानिससँग यस्तो सम्बन्ध भएको घटनाप्रति पश्चाताप मान्नेहरूको सूची लामै छ। उक्त घटनाले तपाईंलाई पटक -पटक घचघच्याइरहन्छ। यो पनि स्वाभाविक हो, तर तपाईंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्वपूर्ण कुरा हो। मनो विज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदम अघि बढ्नु हो। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता  घटना रोक्नुभयो भने यसलाई शिक्षाकै रूपमा लिनुपर्ने हुन्छ। घटना दोहोर्‍याइरह्यो भने मात्र समस्या बढ्दै जान्छ। 

टिन एज केही खतरनाक हुने भएकाले यो उमेरलाई पश्चातापको भूमरीमा धकेल्नबाट जोगाउनेहरू पछि लभ सेक्स र रोमान्सको जीवन सुखमय बनाउन  सक्छन्। पुरुषहरूले कुन बेला आफूसँग जम्काभेट भएकी आकर्षक युवतीसँग प्रेम प्रस्ताव राख्न नसकेकोमा पश्चाताप मान्ने गरेका छन्। उनीहरूले  त्यसरी मौका पाएका युवतीसँग यौन सम्पर्क गर्न नपाएकोमा पश्चाताप मान्ने गरेको पाइन्छ, तर धेरैजसो युवतीले भने छिट्टै कसैलाई विश्वास गरेर यौन  सम्पर्क गरेकोमा दुख प्रकट गर्ने गरेका छन्।

त्यसमाथि पनि माथि भनिएजस्तै गलत व्यक्तिसँग आफ्नो कुमारित्व गुमाएकोमा उनीहरूलाई बढी पश्चाताप हुने गरेको छ। पुरुषहरू क्याजुअल सेक्स  मन पराउँछन। अल्पकालीन सम्बन्ध मन पराउँछन्, तर महिलाहरू पुरुषहरूसँग जीवन बिताउन दीर्घकालीन प्रतिबद्धता चाहन्छन्। पुरुषहरू यौनसम्पर्कपछि  प्रेम गर्ने खालका हुन्छन् भने महिलाहरू प्रेमपछि यौनसम्पर्क चाहन्छन्। महिलाहरू यौन सम्पर्कमा छनौटपूर्ण हुन्छन्। किनभने बच्चा जन्माउनु, हुर्काउनु र  उनीहरूसँग समय बिताउनु महिलाका लागि जैविक, भावनात्मक एवं प्रजननजन्य कुरा हुन्छ। सिद्धान्ततः पुरुषहरूले चाहे एकैदिनमा धेरैलाई गर्भवती  बनाउन सक्छन्, अर्थात् यो धर्तीमा महिलाको भूमिका नै बेग्लै छ। तैपनि कहिलेकाहीँ महिलाहरू कुनै पुरुषसँग अन्जानमा र प्रेम भएको भ्रमका आधारमा  फस्छन् र कुमारित्व गुमाउँछन्। कुमारित्व र प्रजनन् महिलाका लागि जीवनका दुई महत्वपूर्ण सम्पत्ति हुन। यी दुई चीज गुमाउँदा महिलाहरूलाई जीवनमा  सबैभन्दा ठूलो निराशा पैदा हुन्छ। कुमारित्व गुमाउँदा ठूलो पश्चाताप हुन्छ भने प्रजनन् क्षमता गुमाउँदा ठूलो निराशा। यो स्वाभाविक हो। समयक्रमसँगै  सकिने प्रजनन् क्षमता र कुमारित्व टार्न सकिँदैन, तर गलत मानिसबाट कुमारित्व तोड्ने काम रोक्न सकिन्छ। अब तपाईंसँग गुमेको कुरा बाँकी छैन।  विगतका घटनाप्रति पश्चाताप गरिरहनुभन्दा पनि विगतको घटनाबाट पाठ सिकेर नयाँ प्रेमीसँग रमाइलो जीवन बिताउन सकिने उपलब्ध सम्भावनातर्फ  केन्दि्रत हुनुहोस्। निरन्तर आइरहने पश्चातापबाट जोगिन मनोविद्हरूसँग सम्पर्क गर्न सकिन्छ। 

Leave a Reply