यौन मनोविज्ञान


करूणा कुँवर, मनोविद्म ३० वर्षकी भए। श्रीमान् ३३ को हुनुहुन्छ। श्रीमान्को भन्दा मेरो यौनइच्छा बढी छ। पहिले उहाँको इच्छा बढी थियो। हाम्रो विवाह भएको पाँच वर्ष भैसक्यो। जब म इच्छा राख्छु, उहाँ मुड छैन भनेर टार्नुहुन्छ। म यस कारण निरास छु। तपाईंको विचारमा यो मनोवैज्ञानिक समस्या हो  कि कुनै रोग ? यसको केही समाधान छ ?

क.

यदि कुनै पुरुष शारीरिक कमजोरीका कारण यौन क्रियाकलापमा सक्रिय हुन सक्दैन भने त्यो स्वास्थ्य समस्या हुन सक्छ। यदि कुनै शारीरिक  समस्याबिना नै यौनमा चासो नराख्ने हो भने यो मनोवैज्ञानिक समस्या हुन सक्छ। तपाईंले पहिले श्रीमान् यौनसम्पर्क राख्ने इच्छा गर्नुहुन्थ्यो,  अहिले गर्नुहुन्न भन्नुको अर्थ उहाँको मन परिवर्तन भएको हो कि जस्तो देखिन्छ। यद्यपि श्रीमान्का बारेमा राम्रो सूचना श्रीमतीलाई पनि नहुन  सक्छ। अहिलेका लागि तपाईंको श्रीमान्को समस्या मनोवैज्ञानिक हो कि भन्ने आधारमा उत्तर दिने प्रयास गरिरहेकी छु। 

नेपालमा मात्र होइन, विश्वभरि नै कहिले लोग्नेमानिसमा यौनचाहना बढी हुने वा कहिले स्वास्नीमानिसमा यौनचाहना बढी हुने समस्या दे खिन्छ। मसँग पनि यस्ता प्रश्न महिला-पुरुष दुवैले राख्ने गरेका छन्।
चिकित्साको भाषामा यसलाई यौनचाहनामा भिन्नता भनिन्छ। धेरैजसो  व्यक्तिले महिलामा भन्दा पुरुषमा यौनइच्छा बढी हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि उत्तिकै यौनचाहना हुन्छ। यौनचाहना  व्यक्तिअनुसार फरक-फरक हुन्छ।  

यौनचाहना एउटा प्राकृतिक विषय हो। यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ। जोडीमा अन्य  केही समस्या छैन भने कहिलेकाहीँ यौनका बारेमा वा भनौ दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या सिर्जना  भएका उदाहरण प्रशस्तै छन्। माथि भनेजस्तै यौनचाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोवैज्ञानिक विषय पनि हो। 

तपाईंको यो प्रश्नको उत्तर दिनुभन्दा अघि तपाईंको श्रीमानको यौनचाहना समयअनुसार कम हुँदै गएको हो वा पहिलेदेखि नै कम थियो भन्ने  कुरा जान्नु आवश्यक हुन्छ। यदि समयअनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक छ।  किनभने  यो समस्याको स्रोत धेरै हुन सक्छ। तपाईंको प्रश्न सुन्दा तपाईंको श्रीमान् अहिले चिन्तामा रुमल्लिरहनुभएको छ जस्तो लाग्छ। दोस्रो, तपाईं र  तपाईंको श्रीमानको बीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ। एक-अर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि  समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या सिर्जना हुन थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुन सक्छ  अथवा मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा  धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह  गरिहाल्छन्। एक-अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाहहरू पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न  सक्छन्। तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषय केलाउनुपर्ने हुन्छ। 

तपाईंको श्रीमानमा यौन निष्क्रियतासम्बन्धी कुनै समस्या पनि भएको हुन सक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौनचाहना बढी भएको हो भने यो अस्वाभाविक चाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो  भन्ने महत्वपूर्ण कुरा हो।

जहाँसम्म यौनचाहना घटीबढीसम्बन्धी प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ। कोही दैनिक  यौन चाहन्छन् भने कोही महिनामा एक-दुई पटक। तपाईंहरू दुवैले कहिलेकाहीं हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको भनेर  बुझ्नु उचित हुँदैन। त्यसकारण तपाईंको पार्टनरमा कुनै खराबी छ भनेर सोच्नुभन्दा तपाईंहरू दुवैको यौनइच्छा फरक छ भनेर बुझ्नु र  कसरी एक-अर्काको यौनचाहनालाई सम्मान दिने भनेर सोच्नु उचित हुन्छ। यस्तो अवस्थामा तपाईंहरूले एक-अर्कालाई दोष लगाए विभिन्न  समस्या सिर्जना हुन सक्छ र तपाईंहरूको सम्बन्ध थप जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब  दिनुभन्दा एक-अर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ। दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार  गर्नुपर्ने हुन्छ। त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हसीमजाक गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने,  गुणस्तरीय लुब्रिकेन्टसको प्रयोग गर्ने, एक-अर्काको शरीर र भावनालाई बुझ्न प्रयास गर्ने कामहरू गर्नुहोस्। श्रीमानलाई आफ्नो शरीर र  उनको शरीर पनि दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु पनि यो समस्या समाधानको राम्रो उपाय हुन सक्छ।

Leave a Reply